काठमाडौं, हरितालिका तीजको अवसरमा सनातन धर्मावलम्बी महिलाहरू बिहीबार दर खाने तयारीमा छन्। तीजको व्रतको पूर्वतयारीका रूपमा भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा रहेको छ।

यस वर्ष, भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ। पञ्चांगअनुसार, यो वर्ष औँसीको तेस्रो दिन द्वितीया तिथि परेको छ।
दर खाने परम्परामा, महिलाहरू आफ्नो माइती घरमा जान्छन् वा आफ्ना दिदीबहिनीहरूसँग जमघट गरेर रातभर रमाइलो गर्छन्। दरका लागि खासगरी सात्विक पदार्थ, जस्तै दूधबाट बनेका खिर, ढकने, चाम्रे, सेलपुरी, पुआ, गुँदपाक र फलफूल तयार गरिन्छ।
धर्मशास्त्री प्राडा रामचन्द्र गौतमका अनुसार, दर व्रतको दिनलाई आडिलो बनाउने मान्यता छ। यद्यपि, हालको समयमा दरको नाममा तामसिक पदार्थ प्रयोग गर्ने प्रवृत्ति बढेको विषयमा संस्कृतिविद् चिन्ता व्यक्त गर्दैछन्।
