Women of Sanatan religion celebrating Bhadra Shukla Panchami festival

काठमाडौं, भाद्र शुक्ल पञ्चमीको अवसरमा आइतबार सनातन धर्मावलम्बी महिलाले ऋषिपञ्चमी पर्व मनाउँदैछन्। यो दिन बिहान सबेरै उठेर महिलाहरू पायक पर्ने नदी, पवित्र तालाब वा अन्य स्थानमा गई विधिपूर्वक स्नान गर्छन्। स्नानको क्रममा माटो, गोबर, कुश, तिल, र अपामार्ग (दतिवन) प्रयोग गरिन्छ।

Women of Sanatan religion celebrating Bhadra Shukla Panchami festival

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउने परम्परा छ। ३६५ पटक स्नान गर्ने मान्यताको आधारमा, महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

स्नानपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। सप्तऋषि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, र वशिष्ठ हुन्। यसका साथै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ। सप्तऋषिको पूजा गर्दा मौसमी फूल र अन्य वस्तु ३६५ वटा चढाउने विधान छ। यस विधिपूर्वक पूजा गरेमा रजस्वला हुने बेलामा हुने दोष नाश हुने मान्यता छ।

ऋषिपञ्चमी व्रत केवल महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको भए पनि, व्रतकथामा यो व्रत पुरुषले पनि गर्नुपर्ने बताइएको छ। पतिपत्नी मिलेर सात वर्षसम्म लगातार व्रत बसेर उद्यापन गर्ने विधान छ।

पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। यस दिन विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खाने परम्परा पनि छ।

यो दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेय लगायत मन्दिरमा विशेष घुइँचो लाग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *