चितवनको सिमलतालमा भएको घटनाबारे अध्ययन कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन पेश गर्नेछ। कार्यदलले आज दिउँसो १:३० बजे गृहमन्त्री समक्ष प्रतिवेदन बुझाउने जानकारी सचिवालयले दिएको छ। सहसचिव छवि रिजाल नेतृत्वमा रहेको यो कार्यदलले सिमलतालमा भएको भेलबाढी र यसका कारणले उत्पन्न भएको विपत्तिको पनि प्रस्तुतीकरण गर्नेछ।

गत असार २८ गते बिहान ३:३० बजे चितवनको सिमलताल नजिकको सिँदुरे गहिरामा लेदो सहितको भेलबाढी आएको थियो, जसले दुईवटा यात्रुबाहक बसलाई त्रिशूलीमा खसालेको थियो। काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं तर्फ गइरहेका यी बसहरू सिँदुरे गहिराको भेलबाढीमा परेका थिए।
यी बसमा ६५ जना यात्रु रहेको अनुमान गरिएको छ। यस घटनामा तीन जना यात्रु मात्र बाँचेका छन् भने बाँकी बेपत्ता छन्। अहिलेसम्म २४ जनाको शव फेला परेको छ। नेपाल र भारतका गोताखोरहरूद्वारा खोजतलास गरिए पनि बसको अवस्थाबारे अझै केही थाहा पाउन सकिएको छैन।
सरकारले गत असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो। यो कार्यदलले स्थलगत अवलोकन, बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, र स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेको छ।
यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो। यस डिभिजनले ग्रामीण सडक खन्दा निस्किएको माटो वर्षातको पानीले बगाउँदा लेदो सहितको बाढी उत्पन्न भएको निष्कर्ष निकालेको थियो। रिजाल कार्यदलले पनि त्यस्तै निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए।
सिमलताल नजिकै चितवनको कविलास र डुम्रेको लेकसम्म जोड्ने स्थानीय बाटो निर्माण गरिएको थियो। यस वर्ष मात्र पाँच लाख लागतमा करिब ६५० मिटर लामो ट्र्याक खनिएको थियो। उपयुक्त माटो व्यवस्थापन नगर्दा वर्षात्को पानीले माटो बगाएर भेलबाढी निम्तिएको अध्ययनले देखाएको छ। डुम्रेको लेकसम्म पुग्न खनिएको मोटर बाटामा साना र ठूला पहिरा चलेका छन् र नयाँ मूल पलाएका छन्।