Untitled design 39

तेल अभिभ, आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणको शिकार भएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी भएका छन्।

Untitled design 39

हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको छ।

इजरायलले गोलान हाइट्समा हिजबुल्लाहको आक्रमण भएको आरोप लगाएको छ। तर, हिजबुल्लाहले माजदल शम्सको ड्रुज सहरमा भएको रकेट आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ।

आइतबार बिहान इजरायली सेनाले लेबनान भित्र हिजबुल्लाहका सात लक्ष्यहरूमा जवाफी आक्रमण गरेको जानकारी दिएको छ। यस हमलामा कति जना घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा भएको छैन।

यसैबीच, विश्वका नेताहरूले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि आफ्नो अमेरिका भ्रमण चाँडै समाप्त गरेर स्वदेश फर्किएका छन्। नेतान्याहुको कार्यालयले मन्त्रालयको बैठक बोलाउने योजना बनाएको जनाएको छ।

इजरायलको उत्तरी सिमानामा भएको यो आक्रमण अक्टोबर ७, २०२३ पछि सबैभन्दा घातक हो। आक्रमणको तुरुन्तै इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहलाई ठूलो मूल्य चुकाउनु पर्ने बताएका थिए। त्यसको केही घन्टापछि इजरायलले लेबनानमा तीव्र आक्रमण शुरु गर्‍यो।

गत अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि हिजबुल्लाहसँग तनाव बढ्दै गएको छ, र त्यसको जवाफमा इजरायलले गाजामा निरन्तर सैन्य कारबाही गरिरहेको छ। इजरायल र हिजबुल्लाहबीच युद्धको खतरा लगातार बढिरहेको छ, र यदि युद्ध भएको खण्डमा यो सम्पूर्ण मध्यपूर्वमा फैलिने सम्भावना रहेको छ।

इजरायलको कट्टर शत्रु इरानले हिजबुल्लाहलाई व्यापक रूपमा समर्थन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *