Virtual Dialogue between Prime Minister Oli and Elon Musk Discussing the expansion of Starlink in Nepal

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र विश्वप्रसिद्ध अमेरिकी व्यवसायी तथा ‘टेस्ला’ र ‘स्पेसएक्स’ का प्रमुख एलन मस्कबीच शुक्रबार साँझ भर्चुअल संवाद भएको छ।

Virtual Dialogue between Prime Minister Oli and Elon Musk Discussing the expansion of Starlink in Nepal

प्रधानमन्त्रीको सचिवालयका अनुसार, संवादका क्रममा मस्कले आफ्नो स्याटेलाइट-आधारित इन्टरनेट सेवा ‘स्टारलिंक’ को जानकारी दिएका थिए। यो सेवा विश्वभर द्रुत र सुलभ इन्टरनेट उपलब्ध गराउन स्याटेलाइट नेटवर्कमार्फत सञ्चालन भइरहेको छ। मस्कले नेपालमा पनि यो सेवा विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्।

स्टारलिंकको नेपाल प्रवेशबारे छलफल केही महिनाअघि पनि भएको थियो। गत भदौमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टर नेतृत्वको टोलीले नेपाल भ्रमण गरेर प्रधानमन्त्री ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो। सो क्रममा नेपालमा सेवा विस्तारको सम्भावनाबारे छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले मस्कको प्रस्तुति ध्यानपूर्वक सुनेको तर औपचारिक धारणा भने सार्वजनिक नगरेको उनका सचिवालयले जनाएको छ।

स्टारलिंक हाल दक्षिण एशियाली देशहरूमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रक्रियामा छ। भारतमा पनि यो सेवा अनुमति पाउने तयारीमा रहेको छ। भारतीय मिडियाका अनुसार, मस्कको कम्पनीले स्थानीय सुरक्षा र डेटा स्थानीयकरणका आवश्यकताहरू पूरा गर्न सहमति जनाइसकेको छ।

नेपालमा स्याटेलाइट-आधारित इन्टरनेट सेवा जस्ता नयाँ प्रविधिको प्रवेशले डिजिटल पहुँच सुधार्न मद्दत गर्ने विश्वास गरिएको छ। प्रधानमन्त्री र मस्कबीचको यस संवादलाई सोही परिप्रेक्ष्यमा अर्थपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *