काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य ‘किरण’ निर्वाचित भएका छन्। आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको हो। महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि वैद्य पुनः महासचिवका रूपमा निर्वाचित भएका हुन्।

महासचिव पदका लागि वैद्यको नाम सन्तबहादुर नेपालीले प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए। हलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर प्रस्ताव अनुमोदन गरेका थिए। वैद्य आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व गर्नेछन्।
महाधिवेशनले ११७ सदस्यीय केन्द्रीय समिति गठन गर्ने साङ्गठनिक प्रतिवेदन पनि पारित गरेको छ। नयाँ संरचनाअनुसार केन्द्रीय समितिको एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने र त्यसको एक तिहाइ स्थायी समितिमा समावेश हुने व्यवस्था गरिएको छ।
मङ्सिर १३ देखि २३ गतेसम्म चलेको महाधिवेशनमा देशभरका ५५० प्रतिनिधि सहभागी भएका थिए। महाधिवेशनले पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक दिशानिर्देशमा समेत छलफल गरी निर्णय गरेको छ।

यो महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउँदै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
