काठमाडौं, नेकपा एमालेले आसन्न आमनिर्वाचनलाई लक्षित गरी “मिसन-०८४” को सफलता सुनिश्चित गर्न ८ बुँदामा आधारित पार्टी कार्यक्रम प्रस्तुत गरेको छ।

यो प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा आधारित छ, जसले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट पारित संकल्पलाई मार्गदर्शन बनाएको छ।
एमालेका भावी कार्यक्रमहरू:
- अभियान बुझ्ने र बुझाउने: पार्टीले सदस्यता विस्तारदेखि आर्थिक-सामाजिक रुपान्तरणसम्मका सात महत्वपूर्ण विषयलाई गम्भीरतापूर्वक बुझेर कार्यान्वयन गर्न प्रस्ताव गरेको छ।
- वार्षिक कार्ययोजना कार्यान्वयन: पार्टीले तय गरेको अवधारणामा आधारित वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिइएको छ।
- पार्टी स्कुलिङलाई स्थायी र प्रभावकारी बनाउने: स्थायी संरचनासहित पार्टी स्कुलिङलाई संस्थागत गर्ने योजना अगाडि सारिएको छ।
- सङ्गठन विभागको सुझाव कार्यान्वयन: संगठन विभागको राष्ट्रिय भेलाले निकालेको निष्कर्षलाई कार्यान्वयनमा लैजाने प्रस्ताव गरिएको छ।
- मिथ्या र भ्रामक प्रचारको खण्डन: नेताहरूविरुद्धका गलत प्रचारको खण्डन गर्न र सकारात्मक सूचनाको प्रवाहलाई जोड दिइएको छ।
- सुशासन, विकास र उद्यमशीलतासँग जोडिने: पार्टीलाई निरन्तर स्वच्छ, जनमुखी, र रुपान्तरणकारी बनाउन उद्यमशीलता र विकाससँग जोड्नुपर्नेमा जोड दिइएको छ।
- वर्तमान सत्ता सहकार्यलाई सफल पार्ने: नेपाली कांग्रेससहितका ६ दलको समर्थनमा रहेको सत्ता सहकार्यलाई सफल पार्ने उद्देश्य राखिएको छ।
- पार्टीलाई विस्तार गर्ने: विशेषगरी युवा पंक्तिलाई पार्टीसँग जोड्दै पार्टीको जनाधार विस्तार गर्ने प्रस्ताव अगाडि सारिएको छ।
अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आवश्यक पहलहरूमा विशेष ध्यान दिनुपर्ने भन्दै सबै कार्यक्रमहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ।