काठमाडौं, भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विविध कार्यक्रमका साथ सुरु हुँदैछ।

यस पर्वको दौरान, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने परम्परा रहेको छ। श्रद्धालुहरूले उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न, र द्रव्य दान गर्ने चलन छ। यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ।
राजा प्रताप मल्लले पुत्रशोकबाट विह्वल भएकी रानीलाई संसारमा सबैले शोक सहनुपर्छ भन्ने देखाउनका लागि गाईजात्रा सुरु गर्ने आदेश दिएका थिए। रानीको मन शान्त नभएपछि, उनले प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमहरूको पनि आदेश दिए, जसले गर्दा हास्यव्यङ्ग्यको परम्परा चलनचल्तीमा आयो।
प्रताप मल्लको पालादेखि चल्दै आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार हुँदै जाने परम्परा आजसम्म पनि कायम रहेको छ। उपत्यकामा गाईजात्राको विशेष रौनक देखिन्छ, यद्यपि यो पर्व देशभर नै मनाइन्छ।
भाद्र कृष्ण अष्टमीसम्म चल्ने यस पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान, र दिवङ्गत व्यक्तिहरूको सम्झनामा रामायणको करुण रसका गीतहरू गाइन्छन्।
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको आरोपमा विसं २०१७ पुस १ मा भएको शाही ‘कू’ पछि गाईजात्रामा प्रतिबन्ध लागेको थियो। पछि, विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यसलाई महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित पुनः सुरु गर्यो।
गाईजात्राले विकृति र विसङ्गतिलाई उजागर गर्दै हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक चेतना फैलाउँछ। पाटनमा देखाइने सत्य युगको धान र चामलको नमुना तथा काठमाडौँको ठमेलमा देखाइने स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष रूपमा दर्शनीय मानिन्छन्।
आजकल गाईजात्राको अवसरमा समाजका विकृति र विसङ्गतिलाई उजागर गर्दै मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक कार्यक्रमहरूको आयोजना गरिन्छ।
गाईजात्रा काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा लगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरहरूमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा हास्य कलाकारहरूले पनि विशेष कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन्।
सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।