खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क फैलिएको छ। जङ्गलबाट गाउँमा पसेको बाघले स्थानीय बासिन्दालाई आतंकित बनाइरहेको छ, विशेष गरी खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा, र कुकुरलाई लक्षित गरेर हमला गरिरहेको छ।

केही दिनअघिदेखि गाउँमा आएको बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधिएको कुकुर र सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन्। चौहानको घर बाहिर राखिएको खाटमा बाँधिएको कुकुर बाघले साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाएको छ भने भण्डारीको खसीलाई खोरबाट निकाल्न नसक्दा बाघले मारेको छ। शनिबार, भोगटिनीकै देवीबहादुर कार्कीको बोका पनि बाघले मारेको छ।
राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो पनि बाघले मारेको छ। दुई वर्षअघि जिल्लाको दक्षिणी क्षेत्र लिकुवापोखरीमा चितुवाले २५ भन्दा बढी चौपाया मारेको घटना घटेको थियो।