काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले यही मंसिर १६ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक गरेको छ। आज (सोमबार) क्यानले उद्घाटन खेलदेखि फाइनलसम्मका खेलका लागि टिकट दर घोषणा गरेको हो।

उद्घाटन खेलका लागि सर्वसाधारणतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ। अन्य लिग खेलहरूका लागि पनि सर्वसाधारणका लागि ३ सय रुपैयाँ र भीआईपीका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
प्लेअफ खेलको दिन सर्वसाधारणका लागि ५ सय रुपैयाँ र भीआईपीका लागि ७ सय रुपैयाँ तिर्नुपर्नेछ भने फाइनल खेलका लागि सर्वसाधारणलाई ५ सय रुपैयाँ र भीआईपीलाई १ हजार रुपैयाँ तोकिएको छ।
क्यानले सिजनल पास खरिद गर्नेलाई २० प्रतिशत छुटको सुविधा दिएको छ। यस अन्तर्गत, सर्वसाधारणतर्फको सिजनल पास ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फको सिजनल पास ८ हजार २४० रुपैयाँ कायम गरिएको छ।
यसपटकको एनपीएल प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। प्रतियोगितामा ८ फ्रेन्चाइजी टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। क्यानका प्रवक्ता छुम्बी लामाले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन्।
नेपाल प्रिमियर लिग नेपाली क्रिकेटका लागि एक ऐतिहासिक कार्यक्रम मानिन्छ, जसले देशका प्रतिभावान खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रस्तुत गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।