काठमाडौं, हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ।
यो व्रत कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म, एक महिनासम्म घर–घरमा व्रत बस्ने, कथा भन्ने र सुन्ने चलन छ। धार्मिक विश्वास अनुसार, स्वस्थानीको व्रत गरे, कथा भने र सुने मनोकांक्षा पूरा हुने जनविश्वास छ।
आजको दिन विशेष रूपमा हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर व्रतको शुरुआत गरिन्छ। बिहान माघ स्नानपछि महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार-अगस्त्य संवाद रहेको स्वस्थानी व्रत कथा सुन्ने चलन छ।
शालीनदीमा स्वस्थानी मेला सुरु
आजैदेखि काठमाडौंको शालीनदीमा स्वस्थानी मेला सुरु भएको छ। कथन अनुसार, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएकी थिइन् र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (साँखु क्षेत्र)को राजा भएका थिए। यसैले साँखुको शालीनदीमा विशेष मेला लाग्ने गर्छ।
शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य कमाइने धार्मिक विश्वास छ। यसैले प्रत्येक वर्ष लाखौं भक्तजन यो मेलामा सहभागी हुने गर्छन्।
स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चामा रहने गर्छ। स्कन्ध पुराणको केदार खण्डमा समेटिएको यो कथालाई कतिपयले नारी अधिकारसँग जोडेर आलोचना गर्ने गरेका छन् भने कतिपयले यसलाई तत्कालीन समाजको चित्रण भन्दै स्वाभाविक ठान्ने गर्छन्। यद्यपि, यो कथा वास्तवमै सत्य घटनामा आधारित हो कि होइन भन्ने विषयमा अझै यकिन भइसकेको छैन।