काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सभामा उपकुलपति प्रा. डा. केशरजंग बराललाई नीति तथा कार्यक्रम पेश गर्न रोक लगाएका छन्।

मंगलबार विश्वविद्यालय सभामा आगामी शैक्षिक सत्रको नीति तथा कार्यक्रम पेश गर्ने, बजेट पेश गर्ने र पारित गर्ने तयारी थियो।
तर, विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले ग्रेस लिस्टको विवरण स्वीकृत गर्ने र बजेटमाथि मात्र छलफल हुने भन्दै सभालाई यी दुई विषयमा मात्र केन्द्रित हुन आग्रह गरे।
त्यसपछि उपकुलपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेनन्, रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाख ३५ हजार रुपैयाँको बजेट पेश गरे, जसलाई सभाले स्वीकृत गरेको छ।
बजेट पेश गरुन्जेल बसेका ओलीले त्यसपछि केही सिनेटरले उठाएका प्रश्नको जवाफ दिएर बाँकी जवाफ सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दिने भन्दै बाहिरिएका थिए।
विश्वविद्यालय सभामा पहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसपछि मात्र बजेटबारे छलफल हुने परम्परा यसपटक तोडिएको छ।
विश्वविद्यालयले हार्यो : उपकुलपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्न नपाएपछि उपकुलपति बरालले विश्वविद्यालय हारेको टिप्पणी गरे। नीति तथा कार्यक्रम कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले पास गरिसकेको अवस्थामा त्रिवि सभामा पेश नभई बजेट आउनु उल्टो बाटो भएको उनको भनाइ छ।
‘हामी उल्टो बाटोमा हिँडिरहेको छौं। पहिला नीति तथा कार्यक्रम बनाएपछि बजेट आउनुपर्ने तर यहाँ बजेट आएपछि नीति तथा कार्यक्रमका लागि सभा बस्ने कुरा गरिरहेका छौं,’ उनले भने, ‘त्यसैले उल्टो दिशामा गइरहेका छौं। म प्राज्ञिक व्यक्तिको हिसाबले हेर्दा विश्वविद्यालय हारेको छ।’
देशको नेतृत्वमा रहेकाहरुले जे जे गर्दा पनि प्राज्ञिक व्यक्तिहरुले ठीक हो भनेपछि विश्वविद्यालयको हालत यस्तो भएको बरालले बताए।
कार्यक्रमको समापनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उपकुलपति बराललाई परम्पराहरु तोडिँदैमा अथवा आफूले भनेको कुरा नहुँदैमा केही कुरा भएन भन्ने भाष्य नबनाउन आग्रह गरिन्।
‘कतिपय परम्पराहरुलाई तोड्दैमा सबै कुरा बित्यो भन्ने ठान्नुभएन। हिजो हामी नीति तथा कार्यक्रम ल्याउँथ्यौं र बजेट ल्याएर कार्यक्रम गरिरहँदा पनि त अप्ठ्यारोहरु त थियो नि,’ उनले भनिन्।
सरोकारवालाहरुसँग अन्तर्क्रिया, छलफल गरेर परिपक्वताका साथ अगाडि बढ्नका लागि नीति तथा कार्यक्रम पछाडि सारिएको मन्त्री भट्टराईले बताइन्।
उपकुलपति प्रा.डा.केशरजंग बरालले चितवनको इन्जिनियरिङ क्याम्पस, झापाको गौरादहस्थित कृषि क्याम्पसमा दरबन्दी तथा बजेट पठाउन नसकेको भन्दै अब त्यहाँ सरकारको कार्यक्रम सञ्चालन गर्न नसक्ने बताए।
शिक्षामन्त्री भट्टराईले पूरक बजेट ल्याउन नसक्ने भएकाले अहिलेकै बजेटबाट काम चलाउनुपर्ने बताइन्।
‘कसरी गयौं भने हामीले आज भएको हाम्रो स्रोत साधनलाई राम्रोसँग सञ्चालन गर्न सक्छौं र दरबन्दीलाई पनि हामीले कसरी हामी मिलान गर्न सक्छौं भन्ने बारेमा एउटा ओएनएम सर्भे गरोस भन्ने अनुरोध गर्छु,’ उनले भनिन्।