The Nepal Volleyball Association honored the medal winning team of the KAVA tournament with cash prizes

काठमाडौं, नेपाल भलिबल संघ (एनभीए) ले काभा क्षेत्रका विभिन्न भलिबल प्रतियोगितामा पदक जितेका चार टोलीलाई शनिबार नगद पुरस्कारसहित सम्मानित गरेको छ।

The Nepal Volleyball Association honored the medal winning team of the KAVA tournament with cash prizes

एनभीएले आयोजना गरेको कार्यक्रममा काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको हो।

काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको छ। अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले भारतलाई हराएर पहिलो पटक इतिहास रचेको थियो, तर फाइनलमा भारतसँग पराजित भएर रजत जितेको थियो।

काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टलाई पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार प्राप्त भएको छ। सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार रुपैयाँ प्रदान गरिएका छन्।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो। स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार रुपैयाँ प्राप्त भएको छ, जबकि रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनालाई समान ३० हजार रुपैयाँ प्रदान गरिएको छ। बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रुपेश विष्टलाई नगद ४० हजार प्राप्त भएको छ।

यस्तै, माल्दिभ्समा भएको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली यू-२० महिला टोलीले कांस्य जितेको छ। कांस्य विजेता टोलीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

पदक विजेता भलिबल टिम र खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष ठा. उपेन्द्र महतो, र सहाना प्रधान स्मृति फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्रीले पुरस्कार वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *