काठमाडौँ, नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। उद्घाटन सत्र राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह १२ बजे हुनेछ।

बन्दसत्र त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा भोलिदेखि माघ १० गतेसम्म चल्नेछ, जसको जानकारी नेता गुणराज लोहनीले दिएका छन्। उनका अनुसार कार्यक्रमको उद्घाटन जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलका बुवा सेते रम्तेल र ईश्वरी दाहाल (असारे काका)ले संयुक्त रूपमा गर्नेछन्। बन्दसत्रमा संयोजक धर्मेन्द्र बस्तोलाले वैज्ञानिक समाजवादी आन्दोलनको कार्यदिशा र स्वाधीन सरकारको कार्यनीतिसम्बन्धी राजनीतिक दस्तावेज प्रस्तुत गर्नेछन्।
महाधिवेशनमा ७७ जिल्लाबाट ४५० प्रतिनिधि र सय जना पर्यवेक्षक सहभागी हुनेछन्। नेतृत्व छनोट प्रक्रिया प्रत्यक्ष मतदानबाट हुनेछ, जसबाट केन्द्रीय समिति चयन गरिनेछ। हाल ९५ जना रहेको केन्द्रीय समिति सदस्य संख्या महाधिवेशनले घटाएर ६५ जनाको बनाउन सक्ने लोहनीले जानकारी दिए।