काठमाडौं, साउनको अन्तिम कारोबारमा ३००० अंक पुगेको शेयर बजार भदौको अन्तिम दिनमा २५८० अंकमा बन्द भएको छ। भदौ महिनामा बजारमा १४ प्रतिशत अर्थात् ४२० अंकले गिरावट आएको छ।

लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियो घट्दै गएको देखेर आत्तिएर शेयर बिक्री गर्दा बजारले ठूलो गिरावट बेहोरेको हो।
साउन महिनामा बजार ७६० अंकले बढेको थियो, जुन असार अन्त्यमा २२४० अंकबाट साउन अन्त्यमा ३००० अंकमा पुगेको थियो। बजार घटिरहे पनि ब्याजदर घट्नु र बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त हुनुले खरिदको अवसर रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताएका छन्।
बजार घट्दा, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमध्ये नेपाल फाइनान्सको मूल्य भदौमा ३४ प्रतिशतले घटेको छ।