काठमाडौं,दशैं अघिको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएको छ। दिनभर भएको उतारचढावपछि नेप्से परिसूचक ४ दशमलव ८५ अंकले बढेर २६६८ दशमलव १७ विन्दुमा बन्द भयो।

यद्यपि, सेयर बजारमा सामान्य वृद्धि भए पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो। अपर स्यांगी हाइड्रोपावरको सेयर पनि ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर ९ दशमलव ६५ प्रतिशतले र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर ६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ।
यस दिन कुल २९४ कम्पनीको ८ करोड ३१ लाख २ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँमा कारोबार भएको छ। कारोबार रकमको आधारमा नेपाल फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ, जसको २२ करोड १ लाख रुपैयाँको सेयर कारोबार भयो। सानिमा बैंकले १८ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्स र साहस उर्जाले १५-१५ करोड रुपैयाँको कारोबार गरे।
दिनभरको कारोबारमा १३० कम्पनीको सेयर मूल्य वृद्धि भएको थियो भने १०२ कम्पनीको मूल्य घट्यो। ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।