काठमाडौँ, सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपोलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढेको छ। डिपोको स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ।

बुधवार त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादव बीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतासँगै डिपो स्थानान्तरणको प्रक्रिया आधिकारिक रूपमा शुरु भएको हो।
सुरक्षा मापदण्ड पूरा नगरेको र अन्तर्राष्ट्रिय उड्डयन मापदण्डसँग मेल नखाने डिपो स्थानान्तरणको आवश्यकता औँल्याइँदै आएको थियो। नयाँ डिपो निर्माणका लागि डीपीआर तयार पार्ने प्रक्रिया आगामी ६ महिनामा पूरा हुने र २०८४ सम्म स्थानान्तरण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
