काठमाडौँ, नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज सम्पन्न भएको छ। बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्।

महाधिवेशन सफलताका लागि धन्यवाद
बैठकले २७औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, र केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
पत्रकारिताको हकहित र विकासप्रति प्रतिबद्धता
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित संरक्षण, र आर्थिक सङ्कटसँग जुझिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढ प्रतिबद्धता जनायो।
प्रेस स्वतन्त्रता मैत्री कानुनको माग
बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउने र खबरदारी गर्ने निर्णय गर्यो।
पत्रकारमाथिको धम्कीको छानबिनका लागि मिडिया मिसन गठन
पत्रकार गोपाल दाहालमाथि ज्यानको धम्की आइरहेको घटनाको स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मिडिया मिसन गठन गरिएको छ। मिडिया मिसनमा महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, र सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन्।