काठमाडौँ, सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलबारे छलफल गर्न बोलाइएको सत्तारुढ दलको बैठक बिना छलफल नै समाप्त भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ करिब तीन घण्टा लामो बैठक बसेको थियो। तर, यो बैठक सरकार र संसद् प्रभावकारी बनाउने र संविधान संशोधनको गृहकार्यमा केन्द्रित हुँदा कार्यदलको विषय प्रवेश नै हुन सकेन।

बैठकमा सत्तारुढ दलका नेताहरूले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनबारे भ्रम फैलाएको आरोप लगाउँदै, त्यस भ्रमलाई चिर्न सत्तारुढ दल एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नलिए पनि उनीसँग सम्बन्धित अभिव्यक्तिहरूले गलत प्रचार भएको बताए।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्तारुढ दलहरू एकढिक्का भएपछि साझा न्यूनतम कार्यक्रमको गृहकार्य अघि बढ्ने बताए। आइतबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठनको बारेमा छलफल भए पनि औपचारिक घोषणा भने भएको छैन।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलले सरकारको प्रतिरक्षा नगरेकोमा गुनासो गरे। उनले सरकार सफल बनाउन सबै दलको जिम्मेवारी रहेको भन्दै सत्तारुढ दलहरू एकजुट हुनुपर्नेमा जोड दिए।
