Untitled design 32

काठमाडौं, चितवन — नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिनतर्फ जाने सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा दुई बस खस्दा कम्तीमा ५० यात्रु बेपत्ता भएका छन्। पहिरोले बगाएका बसमध्ये एकको तीन यात्रु भने हाम फालेर बच्न सफल भएका छन्।

Untitled design 32

शुक्रबार बिहान सिमलताल क्षेत्रमा पहिरो जाँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रु अझै बेपत्ता छन्। घटनास्थल नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा रहेको छ। घटना भएको स्थानबाट बस र यात्रुहरूको अवस्थाबारे विस्तृत जानकारी अझै प्राप्त भएको छैन। वीरगन्जबाट काठमाडौं गइरहेको एञ्जल यातायातको बसमा २४ जना र काठमाडौंबाट रौतहटको सदरमुकाम गइरहेको गणपति डिलक्स बसमा ३० जना यात्रु सवार थिए। चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार, एञ्जल बसका १७ र गणपति बसका २६ यात्रुको मात्र पहिचान भएको छ।

घटनापछि प्रहरीको हटलाइनमा खबर गर्न सक्ने एक बस चालकले बिहान ४:१५ बजे जानकारी दिएका थिए। घटनालगत्तै प्रहरी टोली परिचालन भए पनि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली ८ बजेपछि मात्रै खोजी कार्यमा जुट्न सकेको थियो। गोताखोरहरूले बाढी र पानीको तेज बहावका कारण बस डुबेको स्थान पहिचान गर्न सकेका छैनन्।

सशस्त्र प्रहरी बलका १२ गोताखोर र नेपाली सेनाका ५ गोताखोरसहित १२५ जना उद्धारमा संलग्न छन्। उद्धारका क्रममा बसको झ्यालको पर्दा र बच्चाको एउटा सुरुवाल भेटिएको छ। शुक्रबार साँझ पौन सात बजे उद्धार स्थगित गरिएको र शनिबार पुनः खोजी कार्य सुरु गरिने भएको छ।

Untitled design 33

नारायणगढ–मुग्लिन सडकखण्डलाई दुई लेनको बनाउने क्रममा पहिरोको जोखिम बढेको छ। २०७४ असार ८ मा पनि यहाँ पहिरो जाँदा इलाका प्रहरी कार्यालय मुग्लिनको भ्यान बगाएको थियो। सो घटनामा दुई प्रहरी बेपत्ता भएका थिए।

त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख लालुप्रसाद पौडेलका अनुसार, मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नति बिनाअध्ययन भएकाले पहिरोको घटना बढेको हो। सडक विस्तार गर्दा पहाडको फेदी काट्ने काम अध्ययन नगरी गरिएकोले पहिरोको जोखिम बढेको उनले बताए।

तीन यात्रुको उद्धार

काठमाडौंबाट गौर गइरहेको गणपति बसबाट हामफालेर बच्न सफल यात्रु जुगेश्वर राय यादव, नन्दन दास र सरोज गुप्ता हुन्। गुप्ता भरतपुरको सरकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी दुईजनाको उपचार चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भइरहेको छ।

जुगेश्वर राय यादवका अनुसार, बस दुर्घटनाको समय पहिरो आएको खबर पाएर बस रोकिएको थियो। पहिरो हट्यो भनिएपछि बस अघि बढाउँदा दुर्घटना भएको उनले बताए। नन्दन दास भने वैदेशिक रोजगारीको तयारी गर्न काठमाडौं गएका थिए। पासपोर्ट बुझाएर घर फर्कने क्रममा भएको दुर्घटनामा उनी पनि धन्न बचेका हुन्।

चालकको मृत्यु

नारायणगढ–मुग्लिन खण्डको १७ किलोमा पहिरोमा परी अर्का बस चालक मेघनाथ विश्वकर्माको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको बसको अघिल्लो भागमा ठूलो ढुंगा खसेर दुर्घटना भएको थियो। चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार, चालकको निधन भएको पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *