काठमाडौँ, पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। विशेष अदालतले २१ वर्ष अघि दायर गरेको मुद्दामा र १२ वर्ष अघि गरेको फैसलामा सर्वोच्चले सजाय घटाएको छ।

३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा २०६० पुस २८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले १३ वर्ष कैद सजायको माग गरे पनि विशेष अदालतले मुद्दा खारेज गरेको थियो। पुनरावेदनपछि सर्वोच्चले पुनः सुनुवाइ गरेर २०६९ साउन १० मा डेढ वर्ष कैद र २ करोड १६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो।
जोशीले पुनरावेदन गरेपछि सर्वोच्च अदालतले नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। अनुसन्धानका क्रममा ३ महिना थुनामा बसेकाले जोशीले अब ६ महिना मात्र कैद सजाय भुक्तान गर्नुपर्नेछ।
जोशीको उमेर ७५ वर्ष पुग्न लागेकोले ज्येष्ठ नागरिक ऐन अनुसार ७५ प्रतिशतसम्म कैद छुट पाउन सक्ने सम्भावना छ। ऐनको दफा १२ (१) ख अनुसार ७० देखि ७५ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म र दफा १२ (१) ग अनुसार ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिनेछ। जोशीको जन्म १९४९ अगस्ट १२ मा भएकोले उनी अहिले ७४ वर्ष ११ महिना १५ दिन पुगेका छन्।
पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दामा अन्य ५ जना पनि प्रतिवादी थिए। उनका छोरा दीपकराजले भने, “अरूले नभएर कांग्रेसकै एउटा तप्काले षड्यन्त्र गरेर बुबालाई फसाएको हो। नीतिगत रूपमा भए पार्टीले नै गरेको हुन्छ, अरू पनि उम्किनु हुँदैन। अदालतको फैसलामा अरू के भनूँ?”