चितवन, तनहुँको बस दुर्घटनामा मृत्यु भएका २५ जनाका शव भारतीय एयरफोर्सको जहाजमार्फत मुम्बई लगिएको छ। शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट शवहरू बोकेको जहाज उडेको हो।

भारतीय एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि उपस्थित थिइन्। दुर्घटनामा निधन भएका चालक र सहचालकका शव भने स्थलमार्गमार्फत गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
राज्यमन्त्री खड्से घाइतेहरूको अवस्था बुझ्न र शव लिन शनिबार काठमाडौँ आएकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीलाई काठमाडौँ पठाएका थिए।
शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। १६ जना घाइते भएका थिए। बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट नेपाल प्रवेश गरेका थिए।