काठमाडौँ, सोमबार दिउँसो २ः४५ बजेको समयमा काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको र जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पानीको मात्रा वृद्धि भइरहेकोले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। आज दिउँसोदेखि काठमाडौँ उपत्यका र वरिपरिका क्षेत्रहरूमा भारी वर्षा भइरहेको छ।

पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपासमा मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र वरिपरिका क्षेत्रहरूमा पनि मध्यम वर्षा भएको छ। मेलम्ची, इन्द्रावती र अन्य साना नदीहरूमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउने सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।
