काठमाडौँ, सिरियामा विद्रोही समूहका नेता मोहम्मद अल-बसिरलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको छ। उनले विद्रोहीहरूसँग मिलेर बसर अल असदलाई सत्ताच्युत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार, टेलिभिजन सम्बोधनमा अल-बसिरले आफ्नो कार्यकाल अर्को वर्षको मार्च १ सम्म रहने जानकारी दिएका छन्। उनी सानो मन्त्रिपरिषद्को नेतृत्व गर्नेछन्, जसको मुख्य उद्देश्य सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउनु हो।
हाल अल-बसिर इदलिब प्रान्तको प्रशासनको जिम्मेवारीमा रहेका छन्। यो घोषणा केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरिरहेको समयमा भएको हो।
आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि सिरियालाई स्वतन्त्र भएको घोषणा गरेका थिए। यसअघि, एलेप्पो, हामा, र होम्स जस्ता प्रमुख क्षेत्र विद्रोहीको नियन्त्रणमा आएका थिए।
देश छोडेर भागेका तत्कालीन राष्ट्रपति बसर अल असदलाई रुसले आश्रय दिएको छ।
