काठमाडौँ, दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल बुधबार बिहान सउलस्थित निवासबाट पक्राउ परेका छन्। बीबीसीका अनुसार, उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले अदालतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि पक्राउ गरेका हुन्।

यसअघि, कोरियाली जाँचकर्ताहरूले यसै महिनाको सुरुवातमा उनलाई पक्रिने प्रयास गरेका थिए। यून सुकमाथि गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयाससँगै विद्रोहको आरोपमा जाँच भइरहेको छ।
पक्राउको क्रममा उनको निवासबाहिर समर्थक र विरोधीहरूको भीड जम्मा भएको थियो। प्रहरीले एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो।
यूनलाई पदबाट हटाउने वा नहटाउने विषयमा महाभियोगको परीक्षणले निर्णय गर्ने बताइएको छ। कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नु जनतामाथि विश्वासघात भएको टिप्पणी गरेका छन्।
