चितवन, चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले लिगमा आफ्नो पहिलो हार भोगेको हो।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ क्रम १८.२ ओभरमा १३१ रनमै रोकिएको थियो। ईशान पाण्डेको ३५ रन सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। चितवनका कुशल मल्ल, जान निकोल लफ्टीइटोन, रिजन ढकाल र अमर राउटेलाले दुई-दुई विकेट लिए।
चितवनले यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो। ओपनर हसन इसाखिलले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रन जोडे। रवि बोपाराले ३६ र विपिन रावलले १७ रनको योगदान गरे।
यो जितसँगै चितवनले ६ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा आफ्नो स्थान सुरक्षित राखेको छ। समान ६ अंक भए पनि नेटरनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। अपराजित जनकपुर बोल्ट्स भने ८ अंकसहित शीर्ष स्थानमा यथावत छन्।
आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले हराउँदै आफ्नो अपराजित यात्रा जारी राखेको थियो।