काठमाडौं, विनोद भण्डारीको अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा १४१ रन बनाएर पूरा गर्यो। ओपनर विनोद भण्डारीले अविजित ५८ रन बनाए, जसका लागि उनले ५५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएर जितमा महत्त्वपूर्ण योगदान दिए।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जनकपुरका लागि जिमी नीशमले २३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४५ रन बनाए। शुभ कंसाकारले २४ बलमा २६ रन जोडे।
सुदूरपश्चिमका बलर कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। सैफ अली जैबले २ विकेट लिए भने स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए।
यो जितसँगै सुदूरपश्चिमले जनकपुरलाई दोस्रो पटक हराएको हो। तर, जनकपुरले फाइनलमा पुग्नका लागि अर्को अवसर पाउनेछ। जनकपुरले अब एलिमिनेटर विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर २ मा खेल्नेछ।