काठमाडौं, फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ।

शुक्रबार राति पेरिसको पार्क डे प्रिन्समा भएको रोमाञ्चक फाइनल खेलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गर्दै स्पेनलाई जिताए। यससँगै स्पेनले ओलम्पिकमा पुरुष फुटबलको दोस्रो स्वर्ण पदक जित्न सफल भएको हो। यसअघि सन् १९९२ मा स्पेनले पहिलो स्वर्ण जितेको थियो।
निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। १००औं मिनेटमा कामेलोले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए, अनि अतिरिक्त समयको इन्जुरी टाइममा अर्को गोल गर्दै खेलको अन्तिम स्कोर ५-३ बनाए।
खेलको सुरुवातमा फ्रान्सले ११औं मिनेटमा एन्जो मिलोटको गोलबाट अग्रता लिएको थियो। तर, १८औं मिनेटमा फर्मिन लोपेजले बराबरी गोल गरे, र २५औं मिनेटमा अर्को गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। एलेक्स बाएनाले २८औं मिनेटमा गोल गर्दै पहिलो हाफमै स्पेनलाई ३-१ को स्थितिमा पुर्याए।
फ्रान्सले दोस्रो हाफमा पुनरागमन गर्दै ७९औं मिनेटमा मागनेस अच्लिउचोको गोलले खेल ३-२ मा ल्यायो। त्यसपछि, इन्जुरी टाइममा जिन फिलिपि माटेटाले पेनाल्टीमा गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्याए। तर, अतिरिक्त समयमा कामेलोले स्पेनलाई विजय दिलाए।