सिन्धुली, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघाटका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन। गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा पर्यो।

Sindhuli bus accident One of the deceased is yet to be identified

काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो। घटनास्थलमा कोलाहल मच्चियो।

गाडीभित्र रहेकाहरु कोही बचाऊ, बचाऊ भन्न थाले त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे। घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए । घटनास्थलमै पुगेका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।

साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो । अर्का मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ।

सिन्धुली दुर्घटनामा ज्यान गुमाउने भोजपुर हतुवागढीका एक जनाको सनाखत
गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए। सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन्।

तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

गाडीमा सवार धेरैजसो यात्रु खोटाङका हुन्। गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउछन्। हात र कम्मरमा चोट रहेका कार्कीको १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको पनि अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताए। उनले भने, “काठमाडौँबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो।”

उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए। उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी काठमाडौँको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *