काठमाडौँ, माओवादी र एकीकृत समाजवादीलगायतका दलहरू सरकारबाट बाहिरिने निश्चित भएपछि निष्क्रिय रहेको समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने निर्णय गरिएको छ। कांग्रेससँगको सत्ता गठबन्धनको बेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा समाजवादी मोर्चाको अभियान अघि सारिएको थियो।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चालाई पुनः सक्रिय गराउने निर्णय भएको अर्थमन्त्री तथा माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए। ‘समाजवादी मोर्चालाई वैकल्पिक मोर्चाका रूपमा पुनर्गठन गर्ने कुरा भएको छ,’ उनले भने, ‘समाजवादी–वामपन्थी दलहरूलाई समेटेर विस्तार गर्ने निर्णय पनि भएको छ।’ मोर्चालाई विपक्षी वाम दलहरूको साझा थलो बनाउने निष्कर्षमा सहभागी दलहरू पुगेका छन्।
बैठकमा प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष नेत्रविक्रम चन्द, समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत नेताहरू सहभागी थिए। यसअघि मोर्चामा रहेको जनता समाजवादी नेपालका नेताहरू भने सहभागी भएनन्। कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने संकेत गरेको जसपा नेपाल मोर्चाको बैठकमा सहभागी भएन।
कांग्रेस–एमाले गठबन्धनमा बन्न लागेको सरकारविरुद्ध संसद् र सडकमा उभिने गरी दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मोर्चालाई ब्युँत्याएका हुन्।
यसअघि कांग्रेससहितको गठबन्धन सरकार छँदै सत्ता सहयात्री कांग्रेसलाई नै दबाबमा राख्न, दाहाल नेतृत्वको सरकारलाई थप बलियो बनाउने गरी माओवादी, एस, तत्कालीन जनता समाजवादी नेपाल र संसद् बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन भएको थियो।
कांग्रेस, माओवादी गठबन्धनका बेला सक्रिय रहेको मोर्चा गत वर्ष फागुन तेस्रो साता एमालेसँग सत्ता समीकरण बनेपछि निष्क्रिय भएको थियो। एमालेले समीकरणभित्र अर्को मोर्चा आवश्यक नभएको बताएपछि मोर्चाको गतिविधि ठप्प थियो। एमालेले विरोध गरेपछि दाहालले मोर्चालाई निष्क्रिय बनाएका थिए।
कांग्रेस, एमाले गठबन्धन सरकारविरुद्ध संसद र सडकमा उभिने गरी दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालले मोर्चालाई सक्रिय गराउने तयारी थालेका हुन्।
कांग्रेस–एमाले गठबन्धन बनेपछि माओवादी र एकीकृत समाजवादी विपक्षी दलको हैसियतमा रहनेछन्। त्यसपछि मोर्चाले कांग्रेस-एमाले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने नेताहरूको दाबी छ।
नेकपा महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द (विप्लव) ले माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधि तीव्र हुने बताएका छन्। ‘केही समय यता नेपाली राजनीतिमा उतारचढाव आएको छ। समाजवादी मोर्चा पछिल्लो समय त्यति सक्रिय भएन,’ उनले भने, ‘प्रमुख दल सरकारबाट बाहिरिएपछि भने मोर्चाको गतिविधिलाई तीव्रता दिनेछौं।’ उनले बुधबारको मोर्चाको बैठकले नै आगामी कार्यक्रमबारे छलफल गरेको बताएका छन्।
संविधानको कार्यान्वयन गर्ने दाबी गरेका समाजवादी मोर्चा घटकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता गरे पनि दलहरूबीच विवादका कारण सहमतिमा पुग्न सकेनन्। ‘संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने’ मोर्चाको उद्देश्यमा भनिएको छ।