काठमाडौं, चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्लाका स्थायी बासिन्दा शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि अस्पतालमा भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचार भइरहेकै अवस्थामा निधन भएको वडाअध्यक्ष फुनुरु शेर्पाले जानकारी दिएका छन्।
शेर्पाका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध भएर राजनीतिमा सक्रिय शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा सक्रिय रहेका शेर्पा चौंरीखर्कका पूर्व गाविस अध्यक्ष समेत थिए।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।
-रासस