मोरङ, मोरङको विराटनगरमा निकालेको राधाकृष्ण रथयात्रा समापन भएको छ। विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको यो रथयात्रा रातभरि ८ किलोमिटरको यात्रा पूरा गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष निकालिने यस रथयात्रामा यस वर्ष तीन लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकले जनाएको छ। यात्रा राधाकृष्ण मन्दिर परिसरबाट सुरु भई तीनपैन, मेनरोड, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक, र बरगाछी हुँदै पुन: मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो।
यात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधिमा संलग्न आरोपमा १४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, जसमा १० जना महिला छन्। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नलाई अनुसन्धानमा ल्याइएको बताए।
विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ बाट ‘खट’ यात्राको रूपमा सुरु भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा पनि सुरु भएको हो। यस वर्षको रथयात्रा खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो। विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ।