काठमाडौं, रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरूले जनाएका छन्।

समाचारअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमति जनाएका हुन्।
दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए। पुटिनसँग भएको भेटमा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरूको सुरक्षाबारे छलफल गरेका थिए। सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फिर्ता पठाउन सहमति जनाएका र त्यसका लागि सहजीकरण गर्ने बताएका समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो। रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ भने १० जना भारतीय नागरिक भने फर्किएका थिए।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो। त्यसअघि उनले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए।
रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो। यद्यपि पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताले भारत–रुस सम्बन्धलाई प्रभावित पार्नसक्ने चिन्ताबीच मोदीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ।