काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षा गर्न सम्बन्धित निकायलाई सबै शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।
सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभरको बाढी पहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रिय हुन सरकारका सबै निकायलाई निर्देशन दिएका हुन्।
अविरल वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियता अपनाउनुपर्ने बताए।
‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपमा मेहनत गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं।’
केही दिनअघि मात्र आफूले उच्चस्तरीय विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जीउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले भने, ‘वर्षा जारी छ। अझै क्षति हुन सक्छ। सडक अवरूद्ध हुन सक्छन्। त्यसैले उद्धार एवम् राहतका लागि सक्रिय होऔं।’
संभावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग आग्रह गरे।