काठमाण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्। यो मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

संसद्का दुई ठूला दल, नेपाली कांग्रेस र एमाले, बीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएपछि एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ। तर, हालसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छन्। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित देखिन्छ।
विश्वासको मत नपाएपछि उनी पदमुक्त हुनेछन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ। कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेका छन्।
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेस, एमाले लगायत दलले ह्वीप जारी गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ११ पुस २०७९ मा प्रधानमन्त्री बनेका थिए।