काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम आज बिहान ११ बजेका लागि तय गरिएको छ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको समर्थन प्राप्त भएको भन्दै दाबी पेस गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले मन्त्रिपरिषद् गठनको तयारी थालेका छन्। नेताहरूका अनुसार मन्त्रीहरूको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार गरिनेछ।