काठमाडौँ, देशमा मनसुन बाहिरिएर हाल ‘पोस्ट-मनसुन’ चलिरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मुलुकका केही स्थानमा बदली र हल्का वर्षा भइरहेको छ भने क्रमशः चिसो बढ्न थालेको छ। असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार भएसँगै चिसोमा वृद्धि भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो। खुला आकाश हुँदा दिउँसो घाम लागेपनि साँझ र बिहान चिसो बढिरहेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा तापक्रम क्रमिक रूपमा घटिरहेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रि सेल्सियस रहँदा हाल यो १६ डिग्री सेल्सियससम्म घटेको छ।
रविवार काठमाडौँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको थियो, जसले चिसो बढेको संकेत गर्छ। देशभर, विशेष गरी लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ भने कोशी, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव कायम छ।
महाशाखाले पहाडी क्षेत्रहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। चिसो मौसम सुरु भइसकेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।
