सिओल, दक्षिण कोरियामा भएको जेजु एयरको बोइङ ७३७–८०० विमान दुर्घटनामा हालसम्म १२४ जनाको शव फेला परेको छ। त्यहाँको नेशनल फायर एजेन्सीका अनुसार, शवमध्ये ५४ पुरुष, ५७ महिला र १३ जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ। ती दुबैजना विमानको चालक दलका सदस्य भएको जनाइएको छ।
उद्धार कार्यमा १,५६२ जना संलग्न छन्, जसमा ४९० जना वारुण यन्त्रका कर्मचारी र ४५५ जना प्रहरी अधिकारीसमेत रहेका छन्।
विमान अवतरणका क्रममा दुर्घटना
थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार बिहान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो। सामाजिक सञ्जालमा साझा गरिएका भिडिओहरूमा विमान रनवेमा चिप्लिएर भित्तामा ठोक्किएपछि आगलागी भएको देखिन्छ।
दुर्घटनाको यकिन कारण पत्ता लाग्न सकेको छैन। तर, प्रारम्भिक रिपोर्टअनुसार, चरासँग ठोक्किनु वा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
कोरियामा विमान दुर्घटनाको इतिहास
जेजु एयर दक्षिण कोरियाको बजेट एयरलाइन्स हो, जसको स्थापना सन् २००५ मा भएको थियो। देशमा पछिल्लो ठूलो विमान दुर्घटना सन् २००२ मा भएको थियो। त्यतिबेला एयर चाइनाको विमान दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो।
कोरियन एयरलाइन्सको चाहिँ पछिल्लो पटक सन् २०१३ मा एसियाना एयरलाइन्सको विमान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो।
दुर्घटनाबारे विस्तृत छानबिन भइरहेको छ।