काठमाडौं, देशभरि मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण अझै वर्षाको सम्भावना रहेको छ, जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर औसत स्थानभन्दा उत्तर र पूर्वतिर औसत स्थानभन्दा दक्षिणमा रहेको छ, जसले गर्दा देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली र अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यत: मौसम सफा रहनेछ।
विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार, भोलि शुक्रबार वर्षाको सम्भावना छ। “आज उल्लेखनीय वर्षा हुने सम्भावना छैन, तर भोलि कोशी, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ,” उनले भने। आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहने अनुमान छ। उपत्यकामा हल्का वर्षा पनि हुन सक्छ।
मौसम बुलेटिनअनुसार, आज पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भागमा मुख्यत: मौसम सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। रातिको समयमा पनि यी क्षेत्रहरूमा हल्का बदलीको सम्भावना छ।