काठमाडौं, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। आज (आइतबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, “कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।”