काठमाडौं, काठमाडौंमा संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारीमा स्टेज निर्माण भइरहेकोले सो क्षेत्रका लागि सवारी आवागमनमा रोक लगाइएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ आउने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ, र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ मोडिएको छ।
संविधान दिवसको मुख्य समारोह असोज ३ गते सैनिकमञ्च टुँडीखेलमा आयोजना गरिनेछ, र सोही दिन साँझ नारायणहिटी दरबार अगाडि सांगीतिक कार्यक्रम हुनेछ।
२०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको सम्झनामा हरेक वर्ष असोज ३ गते राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यस वर्ष पनि संविधान दिवसको अवसरमा दीपावलीसहित विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ।
काठमाडौँमा नागरिकस्तरमा हुने सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ। यस कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन जस्ता चर्चित गायक-गायिका र कुटुम्ब तथा एलिमेन्ट्स जस्ता प्रसिद्ध ब्यान्डहरूले प्रस्तुति दिनेछन्। यो कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।