काठमाडौँ, इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रले राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरू र सर्वसाधारणको आगमनले रौनक ल्यायो। परम्परागत रूपमा जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिनमा देशका प्रमुखहरूसँगै अन्य विशिष्ट व्यक्तिहरू पनि हनुमानढोका क्षेत्र पुगेका थिए।

इन्द्रजात्रा पर्वको मुख्य दिनमा राष्ट्रपतिले हनुमानढोका स्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्रको कालमा पनि राजाले यी रथयात्रा देख्ने परम्परा कायम थियो।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ, जसमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार र देवराज इन्द्रको वाहन ऐरावतको प्रतीक पुलुकिसी नाच नचाउने परम्परा रहेको छ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा र आराधना गर्दै इन्द्रजात्रा पर्व मनाइन्छ। यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको दिन मनाइन्छ र काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानहरूमा उल्लासपूर्वक मनाइन्छ।
भाद्र शुक्ल द्वादशीको दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ।