काठमाडौं, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६७ प्रतिशतले घटेर २७ सय अंकमुनि झरेको छ। सेयर बजार घट्नुको प्रमुख कारण राजनीतिक अस्थिरताको त्रास रहेको बताइएको छ। लगानीकर्तामाझ सरकार ढल्ने हल्ला चलेकाले बजार राताम्मे देखिएको छ।
सरकार ढल्ने हल्लाले लगानीकर्तामा त्रास
नेपाल स्टक ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सागर ढकालका अनुसार, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयले सरकार ढल्ने हल्ला चलाएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा भ्रमणमा रहेकाले लुसँग भेटवार्ता तय नभएको भए पनि लगानीकर्ताबीच अन्योलता कायमै छ।
“लगानीकर्ताले यसलाई सरकार ढल्ने संकेतका रूपमा बुझेको हुन सक्छ,” ढकालले भने।
राजनीतिक अस्थिरताका विविध पाटाहरू
प्रधानमन्त्री ओलीको सरकारमाथि अमेरिका र भारतको असहयोग रहन सक्ने अनुमान र केही मन्त्रीप्रति असन्तुष्टि देखिँदा मन्त्रिपरिषद् पुनर्संरचनाको हल्ला चलिरहेको छ।
लगानीकर्ता सुवासचन्द्र ढुंगानाका अनुसार, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौताले भारत र अमेरिकालाई असन्तुष्ट बनाएको आशंका पनि लगानीकर्ताको मनोविज्ञानमा असर गरेको छ।
बजार अस्थिरता छोटो समयका लागि मात्रै
जानकारहरू भने हालको गिरावटलाई अस्थायी मान्छन्। “बजारमा पर्याप्त लगानीयोग्य रकम, घट्दो ब्याजदर, र बलिया बाह्य सूचक रहेकाले आत्तिनुपर्ने अवस्था छैन,” एक लगानीकर्ताले भने।
तर, आगामी राजनीतिक घटनाक्रम बजारको दिशा निर्धारण गर्ने प्रमुख कारक हुनेछ। “भोलिका दिनमा स्थायित्व आउने वित्तिकै बजारले पुनः उकालो लिनेछ,” ढुंगानाले थपे।
बैंकहरूले आगामी पुस महिनाका लागि पनि ब्याजदर घटाउने सम्भावना रहेकाले बजारमा दीर्घकालीन उत्साह कायम रहने अपेक्षा छ।