विश्वकपमा नेपाललाई ‘गर या मर’ अवस्था, आज वेस्ट इन्डिजसँग भिड्दै

काठमाडौं, आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल बिहान ११:१५ बजे सुरु हुनेछ। लगातार दुई हारपछि दबाबमा परेको नेपालका लागि यो खेल प्रतिष्ठासँगै सम्भावना जोगाउने अन्तिम अवसरजस्तै बनेको छ।

इटालीसँगको अप्रत्याशित हारले नेपालको समीकरण जटिल बनाएको छ। त्यसअघि इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरे पनि अन्त्यतिर ४ रनले चुकेको नेपाल दोस्रो खेलमा भने १० विकेटको हार बेहोर्‍यो। ब्याटिङ र बलिङ दुवै पक्षमा निरन्तरता नदेखिँदा टोलीमाथि प्रश्न उठ्न थालेका छन्। सुपर–८ को ढोका खुला राख्न नेपाललाई आज जित बाहेक अर्को विकल्प छैन।

वेस्ट इन्डिज भने लयमा देखिएको छ। स्कटल्याण्डलाई ३५ रनले र इंग्ल्याण्डलाई ३० रनले पराजित गर्दै ऊ समूहबाट अघिल्लो चरण नजिक पुगेको छ। अनुभवी खेलाडीहरूको सन्तुलित संयोजनले टोली मजबुत देखिएको छ। विश्वकप छनोटअघि यूएईमा भएको तीन खेलको शृंखलामा नेपालले २–१ ले जित निकालेको स्मृति नेपाली समर्थकका लागि सकारात्मक पक्ष हो, तर अहिलेको सन्दर्भ फरक छ। गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भने नेपाल वेस्ट इन्डिजसँग पराजित भएको थियो।

दुईपटक टी–२० विश्वकप जितिसकेको वेस्ट इन्डिज २०१२ र २०१६ को विजेता हो। अनुभव र दबाब झेल्ने क्षमतामा ऊ अघि देखिए पनि नेपालले साहसी सुरुआत गर्न सके खेल रोचक बन्न सक्छ। पराजित भएमा नेपाल अन्तिम खेलअघि नै समूह चरणबाट बाहिरिनेछ।

आजै अर्को बहुप्रतीक्षित खेलमा भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। कोलम्बोको आर. प्रेमदासा स्टेडियममा साँझ ७ बजे सुरु हुने खेलअघि वर्षाको सम्भावनाले चासो बढाएको छ। दुवै टोलीले लगातार दुई खेल जितेर ४ अंक जोडेका छन्। अंक तालिकामा भारत शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा छ।

भारतले २००७ र २०२४ मा उपाधि जितेको इतिहास बोकेको छ भने पाकिस्तान २००९ को च्याम्पियन हो। दुई छिमेकीबीचको प्रतिस्पर्धा सधैं उच्च दबाब र रोमाञ्चले भरिएको हुन्छ। मौसमले साथ दिए दुवै खेलले आज विश्वकपको रंग अझ गाढा बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *