काठमाडौँ, नेपालले आज (शुक्रबार) देखि बंगलादेशलाई बिजुली निर्यात गर्न सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए अनुसार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूले दिउँसो १२:४५ बजे भर्चुअल रूपमा संयुक्त उद्घाटन गर्दै बंगलादेश विद्युत निर्यात सुरु गरेका छन्।

नेपाल, भारत र बंगलादेशबीच गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार, आज नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्दैछ।
पहिले भारतले सम्झौताबमोजिम स्वीकृति नदिँदा बंगलादेशलाई बिजुली निर्यात गर्न सकिएको थिएन, तर अहिले भारतको स्वीकृति पाएपछि नेपालले बंगलादेशलाई बिजुली पठाउन थालेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार, आजको दिनमा मात्र ११ घण्टासम्म बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेका छन्।
बंगलादेशलाई बेच्न लागिएको बिजुली त्रिशूली जलविद्युत् आयोजना (२५ मेगावाट) र चिलिमे जलविद्युत् आयोजनाबाट (२२ मेगावाट) उत्पादन गरिएको हो।
आजको निर्यातपछि, आगामी वर्षको जुन १५ मा एकैचोटि अर्को निर्यात सुरु हुनेछ र त्यसपछि नियमित रूपमा बिजुली निर्यात गरिने घिसिङले जनाएका छन्।
प्राधिकरणका अनुसार, बंगलादेशलाई बिजुली बेच्दा नेपाललाई महिनामा लगभग ३३ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।
नेपाल र बंगलादेशबीच यो विद्युत् बिक्री सम्झौता (पीएसए) ६ वर्षको तयारीपछि कार्यान्वयनमा आएको हो, र सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बेचिने छ।