वीरगन्ज, मधेश प्रदेशको नाटकीय पतनपछि नेपाल पुलिस क्लबले वीरगन्जको नारायणी रंगशालामा भइरहेको जय ट्रफी क्रिकेट प्रतियोगितामा पहिलो दिन ४५ रनको अग्रता लिएको छ। टस हारेर ब्याटिङमा आएको मधेशले राम्रो सुरुआत गरेको थियो, र टोली एक समय २८ ओभरमा ९९–२ को स्थितिमा थियो।
तर, त्यसपछि ३० रन मात्र थप्दा बाँकी ७ विकेट गुमाएपछि मधेश ४२.४ ओभरमा १ सय २९ रनमा अलआउट भयो। पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबले ४० ओभरमा ३ विकेट गुमाएर १ सय ७० रन जोडेको छ। कप्तान आरिफ शेख १३ रन र अमित श्रेष्ठ ३४ रन बनाउँदै अविजित छन्।
नेपाल पुलिस क्लबका ओपनर दिलीप नाथ र कुशल भुर्तेलले उत्कृष्ट साझेदारी गर्दै पहिलो विकेटमा ९६ रन जोडे। दिलीप नाथ ४० रन बनाएर हरिशंकर साहको बलमा बोल्ड भए। उनले ७९ बलमा ४ चौका प्रहार गरेका थिए। भुर्तेलले ६८ बलमा १० चौका र ६३ रन बनाए, जबकि गुलशन झा २० रनमा आउट भए।
मधेशका हरिशंकर साह र अभिषेक तिवारीले २ र १ विकेट लिए। यसअघि, मधेशका ८ खेलाडी दोहोरो अंकमा पुग्न असफल भए। मयन यादव ५९ रनको शानदार इनिङ्स खेल्न सफल भए, जबकि कप्तान हरिशंकर ९ रनमा आउट भए। मयन र नीरज यादवले दोस्रो विकेटमा ५१ रनको साझेदारी गरे।
नीरज यादव २९ रनमा भुर्तेलको बलमा आउट भए। त्यसपछि मधेशका अन्य ब्याटरहरू गुलशन झा र पुलिस क्लबका बलरहरूको कसिलो बलिङको सामना गर्न सकेनन्। गुलशनले १३ ओभरमा ४ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिएका थिए। भुर्तेलले २, श्रवण यादव र ललित राजवंशीले १–१ विकेट लिए।