काठमाडौं, बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने योजना बनाएको छ। आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न लागिएको छ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत यो तरलता खिच्ने निर्णय गरेको हो। चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकाले केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ।
स्थायी निक्षेप सुविधा अन्तर्गत निक्षेप संकलन दर तोकेको राष्ट्र बैंकले आइतबार हुने बोलकबोलमार्फत पनि तरलता खिच्नेछ। यस निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २० माघमा भुक्तानी गरिनेछ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोडदेखि बढीमा ५ करोड रुपैयाँका भागमा निःशेष भाग जाने गरी रकम आह्वान गरिनेछ।
यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।