काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। यसका कारण देशभर आंशिकदेखि सामान्य बदली छ। बाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ।
आज राति पनि कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, र कर्णाली प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ।
महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राखी ती क्षेत्रमा सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षयजस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।