काठमाडौं, देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा देशभर सामान्य बदलीको अवस्था छ। बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ, भने कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।