काठमाडौं, देशभर हाल मनसुनको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानमा र पूर्वमा औसत स्थानको केही उत्तरमा रहेको छ। यसकै कारणले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी प्रदेशका केही स्थानहरूमा र मधेस तथा बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।